मुसिकाेट । कर्णाली प्रदेशकै ठूलो भलिबल प्रतियोगिता, तेस्रो रुकुम कप भलिबलको उद्घाटन आज भएको छ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुने यो प्रतियोगिता १८ जेठदेखि २५ जेठसम्म सञ्चालन हुनेछ।
आईतबार मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसीले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मेयर केसीले भलिबल प्रशिक्षण केन्द्रको खेलकुद विकासमा योगदानको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूमा उत्साह थप्ने र रुकुमलाई चिनाउने बताउनुभयो। उहाँले मैत्रीपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न गर्न आयोजकलाई आग्रह गर्नुभयो।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुनेछन्। पुरुषतर्फ प्रथम हुने टोलीले ५ लाख ११ हजार, दोस्रोले २ लाख ६१ हजार, तेस्रोले १ लाख ५१ हजार र सान्त्वनाले १ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, महिलातर्फ प्रथमले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार नगद पुरस्कार पाउनेछन्।
विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जिल्लालाई खेलकुदको केन्द्र बनाउन र खेल पर्यटन प्रवर्द्धन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
प्रतियोगिता भोलि बिहान ८ बजेदेखि मुसिकोट खलंगास्थित बराहटाकुरा खेलमैदानमा सुरु हुनेछ।