काठमाडौँ । समयमा मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदातालाई कारबाही गर्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका दुई हजार २०० करदातालाई निलम्बन गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा दर्ता भएका मूल्य अभिवृद्धि कर (मुअकर) दातामध्ये लगातार छ महिना मूल्य अभिवृद्धि कर विवरण नबुझाएका दुई हजार २०० करदातालाई कारबाही स्वरूप राजस्व विभागले निलम्बन गरेको हो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले कर विवरण नबुझाउने करदाताहरूलाई निलम्बनसँगै ती संस्थाहरूको कारोबार पनि रोक्का गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई यस्ता फर्मबाट कुनै पनि वस्तु खरिद नगर्न सूचना समेत जारी गरिएको जनाउनुभयो ।
प्रमुख न्यौपानेका अनुसार कर विवरण नबुझाएकालाई निलम्बन गरेसँगै उनीहरूको कारोबार रोकिएको छ भने उपभोक्तालाई पनि यस्ता फर्महरूसँग कुनै कारोबार नगर्न सचेत गराइएको छ ।
यसअघि विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण नबुझाउने करदाताहरूको नाम सार्वजनिक गरेको थियो । कर विवरण पेस नगर्ने करदाताहरूको करकट्टी रोक्का राखी मुल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।
निलम्बित करदाताहरूले आफ्नो कारोबार निरन्तरता दिन चाहने भएमा बाँकी सबै कर विवरण पेस गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको प्रमुख कर अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय नेपालगन्जका अनुसार बाँके जिल्लामा आठ हजारभन्दा बढी मुल्य अभिबृद्धि करदाता रहेका छन् । करदाताहरूलाई विवरण बुझाउनु पर्ने जानकारी भए पनि कतिपयले लापरबाही र बेवास्ता गर्दा विभागले कडाइपूर्वक कारबाही गरेको सो कार्यालयले जनाएको छ ।
प्रमुख कर अधिकृत न्यौपानेले भन्नुभयो, “अघिल्लो समय कानुन अस्पष्ट हुँदा यस्ता कारबाही गर्न कठिनाइ थियो । तर अहिले ऐन, नियम स्पष्ट भएकाले नियमित रूपमा निलम्बनको प्रक्रिया अघि बढाइने छ ।”
आन्तरिक राजश्व कार्यालयका अनुसार निलम्बन भएका फर्महरूसँग कुनै किसिमको कारोबार गर्नुहुँदैन । यसले कारोबार गर्नेलाई पनि समस्या पार्न सक्छ । त्यसैले कारोबार गर्दा आन्तरिक राजश्व कार्यालयको वेबसाइटमा गई मुअकर दर्ता अवस्था जाँच गर्न उपभोक्तालाई आग्रह गरिन्छ । यसका लागि पत्राचार र सूचना समेत जारी गरिसकिएको छ ।