चौरजहारी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित

चौरजहारी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट पारित भएको छ । २१ औँ नगर सभाको दोस्रो बैठकले सर्वसम्मत नीति कार्यक्रम र बजेट पास गरेको हो ।

शनिवार भएको २१ औँ नगर सभामा नगर प्रमुख पुष्प वादीले नीति तथा कार्यक्रम र उपप्रमुख ईश्वरी शर्मा बिएमले बजेट प्रस्तुत गर्नुभएको थियो ।

उक्त नीति कार्यक्रम र बजेटमा आवश्यक छलफल पछि सोमबार बसेको नगर सभाको दोस्रो बैठकले नीति कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै ८२ करोड रहेको छ । नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले नगर सभामा पेस गरेको कुल बजेट ८१ करोड ९४ लाख ८३ हजारको बजेट पारित भएसँगै अब नयाँ आर्थिक वर्षमा कार्यान्वयनमा आउने छ ।

पारित बजेट चालु तर्फ ४२ करोड ८३ लाख १९ हजार ७ सय ८८ अर्थात् ७४।५९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १४ करोड ५८ लाख अर्थात् २५.४० प्रतिशत रहेको छ ।

त्यस्तै चौरजहारी नगरपालिकाको विपत् व्यवस्थापन विधेयक २०८२ र वाङमय कला परिषद् विधेयक २०८२ सहित विभिन्न प्रस्तावहरू पनि नगर सभाले पारित गरेको छ ।

नगरपालिकाले ‘समृद्ध चौरजहारीस् जनउत्तरदायी सरकार’ को दीर्घकालीन सोच हासिल गर्ने गरी आवधिक योजना, परियोजना बैङ्क र मध्यकालीन खर्च संरचना निर्माण गरी योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक समृद्धि र सामाजिक रूपान्तरण सहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशातर्फ केन्द्रित रहेर नीति तथा कार्यक्रम निर्माण गरेको नगर प्रमुख वादीले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार