काठमाडौँ । निर्वाचन आयोग, नेपालले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन अनुरोध गरेको छ।
गत निर्वाचनमा निर्वाचित भएका विभिन्न तहका केही पदहरू रिक्त भएका कारण उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति भने घोषणा भएको छैन। यसैका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो।
आयोगका अनुसार उपनिर्वाचनको मिति छिट्टै घोषणा हुने तयारी भैरहेको छ। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै,’मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन’ भनेर जानकारी दिएको छ।
सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जारी गरेको विज्ञप्तिमार्फत् आयोगले सबै नेपाली दाजुभाइ र दिदीबहिनीलाई निर्वाचन प्रक्रियामा सहभागी हुन र लोकतान्त्रिक अधिकार प्रयोग गर्नका लागि आफ्नो नाम समयमै दर्ता गराउन अनुरोध गरिएको छ।