सुर्खेत । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ७९.५४ प्रतिशत खर्च गरेको छ ।
यो मन्त्रालय कर्णाली प्रदेशका विकासे मन्त्रालयहरु मध्येमा सबैभन्दा बढी बजेट खर्च गर्ने मन्त्रालय बनेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमातहत कार्यान्वयन हुने गरी २ अर्ब ८६ करोड बजेट दिइएकोमा मन्त्रालयले २ अर्ब २८ करोड बजेट खर्च गरेको छ । यो प्रतिशतका हिसाबले हेर्दा कुल बजेटको ७९.५४ प्रतिशत हो, जसमा चालुतर्फ ६७.३६ र पुँजीगततर्फ ८०.५५ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।
मन्त्रालयकाे गत वर्षको तुलनामा यस वर्ष पुँजीगत र चालू खर्च झन्डै १२ प्रतिशतले बढेको छ ।
यस्तै चालु आर्थिक वर्षको अन्तिम भुक्तानी हुने दिन २५ असारसम्म कर्णाली प्रदेश सरकारले २० अर्ब ३० करोड ११ लाख ७१ हजार ७ सय ५७ रुपैयाँ खर्च गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोड रुपैयाँबराबरको बजेट ल्याएको थियो । सो बजेटमा चालुतर्फ ९ अर्ब ३४ करोड १५ लाख अर्थात् ७५ दशमलव ५९ प्रतिशत बजेट खर्च हुँदा पुँजीगततर्फ १० अर्ब ९६ करोड १० लाख खर्च भएको छ ।
प्रतिशतका आधारमा हेर्दा प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५८.६३ प्रतिशत विकास बजेट कार्यान्वयनमा ल्याएको छ । यस वर्ष पुँजीगत बजेटकै हाराहारीमा चालु शीर्षकमा बजेट खर्च भएको छ ।