काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले सामाजिक सञ्जालमा पार्टीविरुद्ध स्टाटस, कमेन्ट र लाइक गरेको भन्दै स्पष्टीकरण सोध्न थालेको छ।
अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले नवलपरासीका पार्टी प्रवक्ता एवं महासमिति सदस्य राधेश्याम पाठकलाई स्टाटस लेखेको आधारमा स्पष्ट पारिदिन पत्र लेखेका छन्। पाठकलाई सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।
त्यस्तै, २०८० वैशाखमा तनहुँमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालमा मत मागेको भन्दै कांग्रेस जिल्ला सदस्य झविन्द्र ज्ञवालीसँग स्पष्टीकरण सोधिएको छ। ज्ञवाली नवलपरासी जिल्ला समितिका सदस्य हुन् । रास्वपाका उपसभापति वाग्लेले लेखेका स्टाटसमा पार्टीहित विपरीत कमेन्ट गरिएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै, अनुशासन समितिले लुम्बिनी प्रदेश समिति सदस्य विष्णु पोखरेललाई बुधबार स्पष्टीकरण सोधेको छ । गत निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।