रुकुम पश्चिम । भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।
गए राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा १ क १५०१ नम्बरको टिपर रुकुम पश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।
उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ।
बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए।
भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए।