काठमाडौँ । टेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ स्थापना दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
क्लासिक ब्याङ्क्वेट, हात्तिवनमा भइरहेको उक्त कार्यक्रम अहिले पनि जारी रहेको छ।
स्वास्थ्य शिविरमा इसिजी सेवा, सुगर र कोलेस्ट्रोल जाँच, मुटु रोगसम्बन्धी परीक्षण तथा परामर्श प्रदान गरिँदैछ। साथै, रक्तदान कार्यक्रम पनि सँगसँगै सञ्चालन भइरहेको छ।
स्वास्थ्य शिविर विभिन्न साझेदार संस्थाहरुको सहकार्यमा आयोजना गरिएको हो। संस्थाका कार्यवाहक अध्यक्ष रामशरण दुलालका अनुसार बिहानदेखि सुरु भएको शिविरमा सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति देखिएको छ र दिनभर सेवा सञ्चालनमा रहनेछ।
टेवा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ। यस वर्ष शुक्रबार हात्तिवन क्षेत्रको सडक सरसफाइ कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
हाल टेवा बहुउद्देश्यीय सहकारी संस्थामा ४ हजार ३०० सदस्य आबद्ध छन्।