काठमाडौं । नेपाली कांग्रेसले लामो समयदेखि महाधिवेशन नभएका पार्टीका भ्रातृ संस्था नेविसंघ, तरूण दल, किसान संघ लगायतको महाधिवेशन गराउन निर्देशिका बनाएर पारित गरेको छ।
पदाधिकारी तथा निर्देशक समितिको संयुक्त बैठकमा छलफलपछि निर्देशिका पारित गरिएको हो।
केन्द्रीय कार्यालय सानेपामा सोमबार पार्टी पदाधिकारीहरू र निर्देशक समितिबीचको संयुक्त बैठकपछि निर्देशिका पारित गरिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
‘लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरूको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरू र पार्टीका पदाधिकारीहरूको संयुक्त बैठक थियो। त्यो संयुक्त बैठकले अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ। त्यो निर्देशिका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीहरूको उपस्थितिमा सबै भ्रातृ संस्थाका अध्यक्ष र निर्देशन समितिहरूलाई राखेर त्यसका बारेमा छलफल भयो र त्यो छलफलमा केही सुझाव प्राप्त गरिसकेपछि निर्देशिका पारित गरेका छौं,’ उनले भने।
नेविसंघ, तरूण दल, महिला संघ, किसान संघ, दलित संघ, थारू संघ, लोकतान्त्रिक खेलकुद संघलगायत कांग्रेसका भ्रातृ संस्थाले महाधिवेशन गरेका छैनन्। उनीहरूलाई गत वर्ष चैत मसान्तभित्रै महाधिवेशन गर्न भनिएको थियो।
तर महाधिवेशन गर्न अन्तिम पटक तदर्थ समितिको म्याद थप भएको छ।