आठविसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित दलित जनविकास आधारभूत विद्यालय गोइरीलाई सहयोग हस्तान्तरण गरिएको छ ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवं आठबिसकोट नगरपालिका –११ का वडा सदस्य राम बहादुर चन्दले आफ्नो स्व. छोरा शिशिर चन्दको जन्मदिनको अवसरमा विद्यालयलाई डेस्क, बेन्च सहित शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
छोरा शिशिरको जन्मदिनको अवसर पारेर बुवाले दुई लाख दुई हजार ९८० रुपैयाँ बराबरको डेस्क, बेन्च र शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।
विद्यालयका प्रधानाध्यापक जङ्ग बहादुर बिकका अनुसार विद्यालयमा अत्यावश्यक रहेका सामाग्रीहरु प्राप्त भएका छन् । यी सामाग्रीहरु विद्यालयको शैक्षिक वातावरणको लागि महत्वपूर्ण र रहने उहाँको भनाइ छ ।
बिद्यालयलाई ४२ थान डेस्क बेन्च सहित शैक्षिक सामग्री उपलब्ध गराईएको छ । पर्याप्त डेस्क बेन्च नहुँदा यहाँका विद्यार्थीहरु भुईमै बसेर पठनपाठन गर्दै आएका थिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ११ का अध्यक्ष प्रेम बहादुर पुन, विव्यस अध्यक्ष मदन कुमार नेपाली , नेपाली काँग्रेसका जिल्ला सचिव तारक बहादुर शाही, युवा नेता बसन्त चन्द, स्वर्गीय चन्दको आमाबुवासहित अन्य समाजसेवी, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
गत असार ३० गतेका दिन चन्दका १९ वर्षीय छोरा शिशिर चन्दको जाजरकोटको नलगाड नगरपालिका –७ स्थित विद्युत लाई मर्मतको क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।