
मेरो छोरीको जीव-रक्षक! हार्दिक बधाई तथा शुभकामना छ डाक्टर साब। उत्तरोत्तर प्रगतिको कामना।
मेरो लागि यो भावनात्मक आभारको दिन हो! मान्छेलाई जुन रुपमा जसले मूल्याङ्कन गरे पनि अधिकांश मान्छेले रुचाएको मान्छे पक्कै पनि गलत हुँदैन। बिरामी हेर्दा न तपाईंलाई समयको बन्देज थियो न कुनै हतार! यो दस महीनाको बिरामी र डाक्टरको रूपमा भएको भेटघाटको क्रमलाई मात्र फर्केर हेर्दा पनि निकै जिम्मेवार र कुशल डाक्टरको रूपमा देखेँ मैले! धन्य थियो तपाईंले गरेको डाक्टर कर्म! हजूरलाई भेट्नु अघि मैले थोरै गुगल सर्च गरेको थिएँ। तपाईंको परिचय— डाक्टर उपेन्द्र देवकोटाको प्रिय चेला अनि वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजङ थापा, यत्ति थियो मैले पाएको जानकारी। मनभरि छोरीको चिन्ता, छोरीको बिरामीको त्रास र सयौँ प्रश्नहरूको भारी बोकेर आएको थिएँ हजूरसामु।
भनिन्छ, दशा बाजा बजाएर आउँदैन। तर आफैँमा आइपरेपछि छर्लङ्गै भयो। हामी घरमा पूजाको लागि काठमाडौँबाट रुकुम जाँदै थियौँ। विशेष कामले म दुई दिन पहिले पुगेँ। छोरीहरू परीक्षाको कारण दुई दिनपछि जानुपर्ने भयो। दाङको तुलसीपुर पुगिसकेर रुकुमका लागि बसपार्क जाँदै गर्दा छोरी र भतिजोको भयानक दुर्घटना भयो। भगवानको कृपा र हाम्रो भाग्य बलियो भएर छोरी र भतिजोको जीवन बाँच्यो। मेरो जिउने सहारा फिर्ता भयो। भगवानले हामीलाई दया गरेर छोरी र भतिजो फिर्ता दिनुभयो। त्यतिबेला के भयो र कस्तो भयो, म सम्झिन सक्दिनँ र सम्झिन पनि चाहन्न! त्यो अन्धकारको अवस्था सम्झेर मनस्थितिमा पुनः अन्धकार निम्त्याउन उपयुक्त लाग्दैन। अहिले छोरी र मेरो भतिजो सकुशल छन्। त्यही नै मेरो लागि सौभाग्य हो। पूर्णिमाको उज्यालोले सौम्यता प्रदान गरिरहँदा किन औँसीको कहालीलाग्दो कालो रातको कल्पना गरिरहूँ जस्तो लाग्छ।
तर त्यस भयानक परिस्थितिले मलाई एक पात्रप्रति सधैँ ऋणी बनायो। अर्थात्, कहिल्यै बिर्सन नसकिने पात्र भेटाएँ मैले त्यो दौरान। हो! उहाँ डाक्टर लेखजङ थापा हुनुहुन्छ।
यतिबेला उहाँको चर्चा निकै छ। धेरै सकारात्मक चर्चा सुनिए। केही विषयलाई नकारात्मक नजिर बनाएर पोखिएको पनि देखियो । मान्छे हो, जति धेरै सकारात्मक भए पनि नकारात्मक शून्य हुन सक्दैन । त्यस्तै, जति नकारात्मक भए पनि सकारात्मक शून्य हुन सक्दैन । यति हो, सकेसम्म सकारात्मकताले जितोस् र जीवन साकार होस् !
यस्तो चर्चाको विषय उहाँको राजनीतिमा आउनु, अझ उप-निर्वाचनमा रूपन्देहीबाट उम्मेदवारी बन्नुले गर्दा भएको हो। मलाई राजनीतिको ‘र’ पनि आउँदैन। र, मलाई कुनै राजनीतिप्रति चासो पनि हुँदैन भन्दा फरक पर्दैन। उहाँ राजनीतिमा आउनुहुन्थ्यो कि हुँदैनथ्यो, कुन पार्टीमा जान पर्थ्यो कि पर्दैनथ्यो, त्यो मेरो चासोको विषय कत्ति पनि होइन। न त मेरो क्षमताको विषय नै हो। मेरो चासोको विषय त अब मेरो छोरीको जस्तै बिरामी र मेरो जस्तै विह्वल माता-पिताले र बिरामीहरूको अभिभावकले त्यस्तो शीतल अमृत बिन्दु पाउलान् कि नपाउलान् भन्ने हो। जसले व्याकुल आत्मालाई शान्त र धैर्य बन्न ‘फू’ मन्त्र गरे जस्तै व्यवहारको टुना फ्याक्छ।
भनिन्छ, दुखमा आफन्त चिनिन्छ। तर मलाई लाग्छ, आफन्त होइन, मान्छे चिनिन्छ। चाहे त्यो आफन्त होस् वा पराई, आकस्मिक विपत्तिमा जो नजिक पर्छ, उसले व्यवहार देखाउने हो। जसले जस्तो व्यवहार देखाउँछ, त्यस्तै चिनिन्छ। यदि हामीलाई त्यो दुर्दशा आइपरेको थिएन भने लेखजङ थापा मेरो दिल-दिमागमा किन र कसरी पस्न सक्थे र ! ?
म छोरीको उपचार र जीवनरक्षाको लागि भौँतारिनसम्म भौँतरिएँ। कतै जाँदा पनि सन्तोषको सास फेर्न सकिनँ। महिनौँसम्म लामो सास फेर्न पाइनँ। छोरीको राम्रोसँग होस नखुल्दासम्म एउटी आमाले कसरी सास फेर्न सक्थी र?! अन्ततः हाम्रै रुकुमेली प्यारी बहिनी सुनिता पुनको सुझावलाई अनुसरण गर्दै डाक्टर लेखजङ थापालाई खोज्न थालेँ। जब उहाँ नेसनल न्यूरो सेन्टर चक्रपथ चोकमा भएको पत्ता लाग्यो, तत्काल त्यहाँ हानिएँ र पालो लिँए।
जब उहाँसँग भेट भयो! उहाँले मेरो छोरीको चेकजाँच सुरु गर्नुभयो। उहाँको त्यो अत्यन्तै शान्त मृदुभाषी बोली नै मेरो पहिलो सान्त्वनाको सास थियो। हुन त उहाँले पनि अन्य डाक्टरले गर्ने जस्तै तरिकाले चेकजाँच सुरु गर्नुभएको थियो। तर त्यो व्यवहार नितान्त फरक थियो। उहाँले पहिले मलाई सान्त्वना र हौसला दिनुभयो। तब घटनाको विवरण र बिरामीको अवस्थाबारे पल्टाइ-पल्टाइ, सूक्ष्म बुँदाहरू पनि कोट्याइ-कोट्याइ, प्रत्येक अस्पतालका बिरामी पुर्जा पल्टाउँदै छोरीको अवस्था, सम्भावना र मुख्य समस्याका बारेमा मलाई सम्झाउँदै जानुभयो। त्योभन्दा अघि मलाई मेरो छोरीको टाउकोमा चोट छ मात्रै थाहा थियो। त्यसअगाडि अस्पताल र डाक्टरहरूले धेरै कुरा जानकारी नै दिएको रहेनछ। त्योभन्दा पहिला मैले तीनवटा डाक्टर भेटिसकेको थिएँ। तर डाक्टर लेखजङ थापाले मात्र सम्पूर्ण खतरा, अप्ठ्यारा, सबल र सकारात्मक पक्ष, सम्पूर्ण बिरामीको अवस्थाबारे प्रकाश पारिदिनुभयो। कत्ति हतार थिएन उहाँलाई। पहिलो भेट मेरो ४० मिनेटको थियो। त्यो भेटमा नै मेरो भित्रको सम्पूर्ण भय र हरेक प्रश्नलाई समाधान गरिदिनुभएको थियो। त्योभन्दा पहिला सधैँ हतारिएका डाक्टर देखेकी मैले पो धेरै समय लिएँ कि जस्तो लागिरहेको थियो मनमनमा। उहाँले यति संयमित तरिकाले मलाई सम्झाउनुभयो कि मसँग प्रश्न नै थिएनन्। म ढुक्क भएँ। मेरो मन शान्त भयो। मेरो छोरीले एकदिन पूर्ण स्वास्थ्यलाभ गर्नेछिन् भन्ने विश्वास र भरोसासहित डेढ महीनाको हरेक दिनको आँसुपछि आशाको दियो बल्यो मेरो मनमा। यसको लागि म जिन्दगीभर ऋणी रहनेछु डाक्टर साबको।
मेरो नजरमा डाक्टर लेखजङ आज पनि, भोलि पनि एउटा अत्यन्तै संवेदनशील जिम्मेवार मान्छे भएर रहनुहुनेछ। उहाँले मेरो छोरीलाई कुशल अभिभावकले जस्तै सम्झाउनुभयो। मेरो छोरी र म आत्तिँदा कुशल मार्गदर्शक बन्नुभयो। मेरो छोरीलाई मात्र होइन, त्यहाँ आउने हरेक बिरामीसँग समान व्यवहार र संवेदना झल्किएको मेरा खुला आँखाले देखेँ दस महीनासम्म! मैले यो दस महीना अनुभव बटुल्दा सबैको लागि यो लेख तयार गरेको हो।