रुकुम पश्चिम । जिल्ला सुरक्षा समिति रुकुम पश्चिमले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।
आज एक सूचना जारी गर्दै समितिले जिल्लाको अवस्था सामान्यीकरण गर्ने प्रयास भइरहेकाले सबैलाई संयमित रहन र अमनचयन कायम राख्न सहयोग गर्न आग्रह गरेको हो।
सुरक्षा समितिले कुनै पनि किसिमका अवाञ्छित तथा हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेको छ। साथै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको साझा जिम्मेवारी रहेको भन्दै त्यसप्रति सचेत र सतर्क रहन पनि सूचनामा उल्लेख गरिएको छ।
समितिले विभिन्न समूहहरूबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सतर्क रहन र त्यस्ता घटनाबारे तुरुन्तै सूचना दिन आग्रह गर्दै भनेको छ, “सामाजिक शान्ति र सुव्यवस्था कायम गर्न सबैको सहकार्य अपरिहार्य छ।”
यसबाहेक, जिल्लाका सार्वजनिक निकायहरूलाई अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराउने निर्देशन दिइएको बताइएको छ। सेवाग्राहीहरूलाई सम्बन्धित कार्यालयहरूसँग समन्वय गरेर मात्र सेवा लिन भनिएको छ।
स्थानीय स्तरमा कुनै पनि हिंसात्मक वा आपराधिक गतिविधि देखिएमा नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालयमा तुरुन्त सम्पर्क गर्न सुरक्षा समितिले आग्रह गरेको छ।