काठमाडौँ । बिहीबार बसेको सचिवस्तरीय बैठकले सिंहदरबार परिसरमा तोडफोड भएका कार्यालयहरूको क्षतिको विवरण संकलन गर्ने र त्यसको मुचुल्का तयार गर्ने निर्णय गरेको छ। यसका लागि सम्बन्धित मन्त्रालयका कर्मचारीले प्रहरीको रोहवरमा कार्य गर्ने र विभागीय स्तरमा विभाग प्रमुख तथा कार्यालय स्तरमा कार्यालय प्रमुखले विवरण संकलन गर्ने व्यवस्था मिलाइने जनाइएको छ। सोही अनुशार प्रदेश र स्थानीय तहमा पनि समान कार्य हुने व्यवस्था मिलाइने भएको एक सचिवले जानकारी दिए।
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय भर्चुअल बैठकले प्रमाण संकलनका क्रममा फोटो तथा भिडियो तयार गरी सुरक्षित राख्न सम्बन्धित कार्यालयका कर्मचारीलाई निर्देशन दिइएको छ। यस्ता सम्पूर्ण कार्य कर्मचारीहरूले नै गर्ने र भविष्यमा संरचना पुनःनिर्माण वा नयाँ संरचना तयार गर्दा सहयोग पुग्ने गरी काम गर्न तत्पर रहने निर्णय पनि बैठकले गरेको छ।
बैठकले हालको विषम परिस्थिति र नजिकिँदै गरेका चाडपर्वलाई ध्यानमा राखी नागरिकलाई अत्यावश्यक सेवा प्रवाह सुनिश्चित गर्न विभिन्न निर्देशन जारी गरेको छ। यसक्रममा सम्बन्धित कार्यालयमा खटाइएका कर्मचारीहरू सुरक्षासहित कार्यालयमै उपस्थित भई सेवा प्रवाहमा सक्रिय रहन भनिएको छ।
अध्यागमन, राहदानी, कन्सुलर, वैदेशिक रोजगार, श्रमलगायत नागरिकसँग प्रत्यक्ष सरोकार भएका सेवा तुरुन्त शुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ। साथै, राजश्व सम्बन्धी कार्यालयहरू सुरक्षाको समन्वयमा सञ्चालन हुने व्यवस्था मिलाइने भएको छ।