काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट यात्रीवाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन शुक्रबार (भदौ २७)देखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले शुक्रबार बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।
यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो । हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आउँदो दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए । रासस