सुर्खेत । जेन–जीले अगुवाई गरेको आन्दोलनपछि कर्णालीमा ३८ सरकारी संरचनामा क्षति पुगेको छ । प्रदर्शनकारी आगलागी र तोडफोड गरेका कारण १९ संरचनामा पूर्णरुपमा,१४ वटामा आंशिक र ५ वटामा सामान्य क्षति पुगेको छ ।
प्रदर्शनकारीले वीरेन्द्रनगर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका तोडफोड गरेका थिए भने आगजनीको प्रयास भएको थियो । वीरेन्द्रनगर नगरपालिकास्थित १,२,३,६,७,८,९ र ११ नम्बर वडा कार्यालयमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । कार्यालयमा रहेको सबै कागजात,कम्प्युटर,फर्निचरलगायत सामान नष्ट भएकाले तत्काल सेवा प्रवाहमा समस्या भएको वीरेन्द्रनगर—६ का वडाध्यक्ष जनकबहादुर रावलले बताए । ‘सबै संरचना नष्ट गरिएपछि कसरी सेवा प्रवाह गर्ने भन्ने अन्योल भयो,’उनले भने,‘तत्काल टेन्ट राखेर बाहेक सेवा दिनुको विकल्प भएन ।’
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले तोडफोडका कारण कागजात,फर्निचर र कम्प्युटरलगायत सामग्रीमा क्षति पुगेको बताइन् । ‘निषेधाज्ञाका कारण अहिले त्यहाँ जान सकेका छैनौँ,अधिकांश वडा कार्यालय आगजनी भएका छन्,तत्काल सेवा दिन समस्या देखियो,’उनले भनिन्,‘निषेधाज्ञाको अवधि सकिएपछि के गर्ने भन्नेबारे छलफल गरी त्यही अनुसार सेवा प्रवाह गरिनेछ ।’
प्रदर्शनकारीले आगलागी र तोडफोडका कारण प्रदेशसभा सचिवालय,अख्तियार,नापी कार्यालय,उच्च सरकारी वकिल कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,भेरी बबई बहुउद्देश्यीय आयोजनालगायत कार्यालयमा क्षति पुर्याएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विभिन्न जनप्रतिनिधिको निजी निवास र विभिन्न पार्टी कार्यालयमा पनि आगजनी गरी पूर्णरुपमा क्षति पुर्याइएको थियो । कान्तिपुर