काठमाडौँ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएको छ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरभित्रै रहेका सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए।
उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्ति निकालेर ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवा माथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सनायोग्य छ। उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’ भन्ने उल्लेख गरेका हुन्।
उपसभापति खड्काले मुलुकमा विकसित घटनाक्रम सम्बन्धमा नेपाली कांग्रेसले निरन्तर आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै आइरहेको पनि उल्लेख गरेका छन्।
‘जेएनजी पुस्ताको प्रदर्शन, प्रदर्शनको क्रममा भएको मृत्यु एवं खर्बौंको भौतिक संरचनाको विनाश, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवा र अन्य कयौं राजनीतिक नेतृत्व माथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र बिषयमा पार्टीको धारणा महामन्त्रीद्वयको वक्तव्यबाट र पछिल्लो समय कार्यसम्पादन समितिको बैठकको निर्णयबाट सार्वजनिक गरिएको छ। वर्तमानमा पार्टीको भूमिका संयोजन गरिरहेको नाताले हाम्रा धारणाहरू बारे कुनै अस्पट्ता र अन्यौल नरहेको सम्बन्धमा हामी स्पष्ट छौं,’ उनले भनेका छन्।
साथै जेएनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा युवाहरूको मृत्यु हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद रहेको कांग्रेसको भनाइ छ।
उक्त सम्पूर्ण घटनाको छानबिन गर्न कांग्रेसले माग गरेको छ।
‘जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनीतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ। यो अत्यन्तै अकल्पनीय र दुःखद घटना निन्दनीय र भर्त्सनायोग्य छ । सरकारले क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गरोस्,’ उनले भनेका छन्।
संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको कांग्रेसको भनाइ छ।
‘यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ। यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ। अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौं,’ उनले भनेका छन्।
उनले विद्यमान राजनीतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणा तय गर्दै अघि बढ्न नेपाली कांग्रेस दृढ प्रतिबद्ध रहेको बताएका छन्।