काठमाडौँ । जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको छ ।
आगजनीबाट भवनमा पुगेको क्षति, भवनका भित्ता, छतलगायतका संरचनाको अवस्था, तिनीहरूको पुनर्निर्माण गर्न सकिन्छ या सकिन्न भन्नेबारे यकिन गर्न ‘¥यापिड भिजुअल एसिसमेन्ट’ सुरु गरिएको सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । ‘एसिसमेन्ट’ बाट क्षतिग्रस्त भवनहरूको भित्ता, छत, खम्बा, इँटालगायतका संरचना काम लाग्छन् कि लाग्दैनन् ? तिनीहरूको पुनर्निर्माण गर्न सकिन्छ कि सकिँदैन ? लगायतको विषयमा स्पष्ट हुने कार्यालयको भनाइ छ । कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले आगजनी र तोडफोडबाट क्षतिग्रस्त र ध्वस्त भएका भवनको पुनर्निर्माण गर्ने वा भत्काउने विषयको निष्कर्षमा पुग्नका लागि ‘¥यापिड भिजुअल एसिसमेन्ट’ सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिंहदरबारभित्रका भवन र सर्वोच्च अदालत भवनको ‘एसिसमेन्ट’ एक हप्ताभित्र सम्पन्न हुने छ ।
कुनै पनि भौतिक संरचनामा आगजनीपछि त्यसको पुनर्निर्माण वा भत्काउनु पहिला ‘¥यापिड भिजुअल एसिसमेन्ट’ गर्ने विश्वव्यापी चलन रहेको उहाँको भनाइ छ । एसिसमेन्टले अहिले क्षतिग्रस्त संरचनाको अहिलेको अवस्था स्पष्ट हुने बताउँदै उहाँले त्यसका आधारमा थप काम र प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एसिसमेन्टपछि प्राविधिकको सल्लाहमा कुन संरचनाको निर्माण तत्काल गर्ने वा पछि गर्ने, कुन ढाँचामा पुनर्निर्माण गर्ने ? प्रबलीकरण गर्ने कि भत्काउने ? कति लागत लाग्न सक्नेलगायत विषयमा निष्कर्षमा पुग्न सकिन्छ ।”
त्यसै गरी क्षतिग्रस्त भवनमध्ये कुन प्रयोग गर्न मिल्ने वा नमिल्ने, कुनको पुनर्निर्माण गर्न मिल्ने ? भवनको कुन तलामा कुन प्रकारको कति क्षति भएको छ ? लगायतको विषयमा ‘एसिसमेन्ट’ पछि प्रस्ट हुने उहाँले बताउनुभयो । उहाँका अनुसार ‘एसिसमेन्ट’ ले मुख्य त क्षतिको विवरण र संरचनाको अवस्था थाहा हुने छ । त्यसै गरी आवश्यक आर्थिक स्रोतका आधारमा पुनर्निर्माणका लागि थप प्रक्रिया अगाडि बढाइने छ ।
आगजनीबाट क्षतिग्रस्त भएका भवनको पुनर्निर्माण वा मर्मतसम्भार ‘एसिसमेन्ट’ पछि गरिने भए पनि तत्कालका लागि भवनमा धुवाँबाट कालो भएका ठाउँमा रङरोगन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । कालोले सिंहदरबार कुरूप नदेखियोस् भन्ने उद्देश्यले तत्कालका लागि रङरोगन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । कार्यालय प्रमुख कण्ठले सहरी विकासमन्त्री कुलमान घिसिङबाट पदभार ग्रहण गर्ने क्रममा भएको निर्देशनबमोजिम धुवाँको मुस्लोले कालो भएका ठाउँमा मात्र रङरोगन गर्न लागिएको स्पष्ट पार्नुभयो । आगजनीअघि जहाँ जुन रङको प्रयोग गरिएको थियो, त्यही रङ लगाउने काम भइरहेको छ । उहाँका अनुसार अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफैँले रङरोगन गरिरहेको छ । अन्य मन्त्रालय र कार्यालयको भवनमा सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत रङरोगन भइरहेको छ ।
आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पश्चिमी भाग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा सबभन्दा बढी क्षति पुगेको देखिएको कार्यालय प्रमुख कण्ठले जानकारी दिनुभयो । त्यसै गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयमा आगजनीबाट क्षति पुगेको थियो । त्यसै गरी सिंहदरबार परिसरमा रहेको नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संसदीय दलका कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका थिए ।