काठमाडौं । भदौ २३ र २४ गते भएका घटनालाई लिएर परेका जाहेरीका विषयमा प्रहरी र जाँचबुझ आयोगबीच असमझदारी देखिएको छ ।
आयोगको आज बसेको बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेका जाहेरी प्रहरीलाई नै फिर्ता पठाउने निर्णय लिएको हो । काठमाडौं प्रहरी परिसरमा परेका ती जाहेरी आयोगको कार्यक्षेत्र भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन ।
जाहेरी स्वीकार गरी आयोगमा पठाइएको थियो । तर, आयोगले फेरि प्रहरीमा फिर्ता गरिदिएको छ ।
आयोगका अनुसार मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासमेत ४ जनाको जाहेरी प्रहरीमा परेको थियो । तर, फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आफ्नो कार्यक्षेत्रभित्र नपरेको आयोगले बताएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न-गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तीको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’