मुसिकाेट । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुकुम (पश्चिम)को बैठकले पुस २५ गतेभित्र सबै पालिकामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष हेमराज केसीको अध्यक्षतामा शनिवार खलंगामा बसेको बैठकले संगठन विस्तारदेखि अधिवेशन तयारीसम्मका विभिन्न प्रस्ताव र निर्णयहरू पारित गरेको हो ।
बैठकले जिल्लाभर रहेका ७९ वटा माध्यमिक विद्यालयमा मंसिर २५ गतेसम्म र ८ वटा विद्यालयमा पुस ५ गतेसम्म दुई चरणमा विभाजन गरी संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, पुस ६ देखि २५ गतेसम्म जिल्लाका सबै ६ वटा पालिकामा अधिवेशन सम्पन्न गर्ने र माघको पहिलो हप्तामा जिल्ला अधिवेशनको मिति निर्धारण गर्न अर्को बैठक बस्ने निर्णय पनि गरिएको छ ।
बैठकले “जय नेपाल कप” आयोजना गर्ने र “मुखपत्र” प्रकाशनका लागि तयारी थाल्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बाँफिकोट गाउँपालिका–२ पिपल निवासी तथा जिल्ला कार्यसमिति सदस्य खिमा बस्नेतका बुबाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको संगठन विभाग संयोजक दिपेन्द्र राज कुसारीले जानकारी दिनुभयो ।