काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको दाबी गरेका छन्।
जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा बोल्ने अधिकांश नेताहरूले नियमित महाधिवेशनको पक्षमा धारणा राखेको जिकिर गरे।
उनले भने, ‘सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्छ। अहिले १५ औँ महाधिवेशनमा चुनावअघि कि पछि गर्ने भन्नेमा मतभिन्नता हो। त्यसमा सम्पूर्ण पार्टी केन्द्रित होऔँ। त्यसपछि महाधिवेशन जाने कुरा गर्नुभएको छ।’
उनले विशेष महाधिवेशनको कुरा उठेपछि महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको विषयमा केही प्रश्न उठेको बताए।
बैठक भोलि दिउँसो १ बजेबाट पुनः बस्नेछ।

