मुसिकोटमा फोहोर उठाउन समय तालिका निर्धारण

मुसिकोटमा फोहोर उठाउन समय तालिका निर्धारण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनको लागि समय तालिका निर्धारण गरेको छ ।

नगरपालिकाको बजार क्षेत्रको फोहोरलाई व्यवस्थापन गर्न फोहोरको बर्गिकरण गरेर समय तालिका निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यम कान्त पाण्डेय अनुसार आइतबार खलङ्गा तल्लो बजार हुँदै जिल्ला प्रहरी कार्यालयसम्म र खलङ्गा माथिल्लो बजार, बाल मन्दिर, हुलाक मुनी, एभरेस्ट बैङ्क हुँदै रातामाटा जाने बाटोसम्मको फोहोर उठाइने बार तोकिएको छ ।

सोमबार बागबजार–त्रिवेणीचोक–कृषि विकास बैङ्क सम्म र जिल्ला समन्वय समिति–कालिका मन्दिर–त्रिवेणी चोकसम्मको फोहोर उठाइने छ भने मङ्गलवार शितलपोखरी–शेरिगाउँ–डिभिजन वन कार्यालय हुँदै विवेक सिसा पसलसम्मको र सोलावाङ बजारको फोहोर उठाइने तालिका निर्धारण गरिएको छ।

यस्तै बुधवार खलङ्गा तल्लो बजार हुँदै जिल्ला प्रहरी कार्यालयसम्म र खलङ्गा माथिल्लो बजार, बाल मन्दिर, हुलाक मुनी, एभरेस्ट बैङ्क हुँदै रातामाटा जाने बाटोसम्मको तथा बिहीबार बागबजार–त्रिवेणीचोक–कृषि विकास बैङ्क सम्म र जिल्ला समन्वय समिति–कालिका मन्दिर–त्रिवेणी चोकसम्मको फोहोर उठाइने छ ।

शुक्रवार बहुतले पार्किङ–पातुखोला प्रहरी बिट–मठसम्मको र सल्ले अस्पतालसम्मको फोहोर उठाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिका अनुसार सबै ठाउँमा फोहोर उठाउने गाडी बिहान ७ बजे आउने छ ।

नगरपालिकाले फोहोर उठाउने कार्यमा सहयोग र समन्वय गरिदिन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार