बिरेन्द्रनगर । सुर्खेतको बराहताल गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीका लागि शिविर र अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
गाउँपालिकाको १० वटै वडामा पुगेर योजना सम्झौता गर्ने कार्यको सुरुवात आइतबार (आज) वडा नम्बर २ बाट गरिएको गाउँपालिकाले जनाएको छ।
शिविर तथा अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसी, योजना शाखाका प्रतिनिधि, प्राविधिक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।
प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीका अनुसार चालु आर्थिक वर्षमा छनोट भएका योजनाहरु वडामै पुगेर सम्झौता गरिँदै छ। वडास्तरमै योजना सम्झौता र अभिमुखीकरण गर्दा बेरुजु रोकथाम, प्राविधिक र व्यवस्थापकीय त्रुटि न्यूनीकरण तथा उपभोक्ता समितिलाई सहजता हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार कात्तिक १८ गते वडा नम्बर ४, २० गते वडा नम्बर ८, २३ गते वडा नम्बर ७, २५ गते वडा नम्बर १०, २७ गते वडा नम्बर १, ३० गते वडा नम्बर ३, मंसिर २ गते वडा नम्बर ५, ४ गते वडा नम्बर ६ र ९ गते वडा नम्बर ९ मा शिविर सञ्चालन गरिने छ।


