काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् ।
जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतर्फिरुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्, ‘नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्ष गम्भीर बन्नुपर्छ ।’
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले त्यस पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
लेखक पत्रकार शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकार सामेल भएर युद्ध पत्रकारिता गरेको र त्यस समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताए ।
पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकले बताए । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक सङ्घर्ष र जनयुद्धका गतिविधिको दस्ताबेज पुस्तकले समेटेको छ ।
शर्मा प्रेस सेन्टर नेपालका पूर्व उपमहासचिव एवम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।

