रुकुम पश्चिमको कांग्रेस सभापतिमा चार जनाको दाबी

कांग्रेस जिल्ला अधिवेशन

रुकुम पश्चिमको कांग्रेस सभापतिमा चार जनाको दाबी

कांग्रेस जिल्ला अधिवेशन

रुकुम पश्चिम । आगामी पुस २१ गते तोकिएको नेपाली कांस्रेसको जिल्ला अधिवेशनमा रुकुम पश्चिम जिल्लाको सभापति पदमा चार जना नेताले दाबी गरेका छन् ।

सोमबार बिहान उजेली न्युजसँगको कुराकानीको क्रममा चार जना नेताले सभापति पदमा आफ्नो उम्मेदवारी रहने जनाएका छन् । मुसिकोट नगरपालिका ५ निवासी सुरतजंग मल्ल, बाँफिकोट गाउँपालिका ३ निवासी हर्कसिं खत्री, मुसिकोट नगरपालिका १ निवासी महेन्द्र केसी र चौरजहारी नगरपालिका १० निवासी खड्कबहादुर डाँगीले पार्टीको आठौ जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी भईरहेको बताउनुभएको हो ।

सभापतिका आकांक्षी मल्ल र खत्री हाल पार्टीको जिल्ला उपसभापति पदमा हुनुहुन्छ । २०४७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य हुँदै सक्रिय राजनीतिमा होमिनुभएका मल्ल पार्टीको क्षेत्रिय सभापति समेत भईसक्नुभएको छ । लामो समयसम्म पार्टीमा गरेको योगदान र त्यागमा आधारमा आफुले सभापति पदमा दाबी गरेको उहाँले बताउनुभयो ।

सभापति पदका अर्का आकांक्षी हर्कसि. खत्री पार्टीको जिल्ला सचिव भएर दुई सफल कार्यकाल बिताउएर उपसभापति समेत हुनुहुन्छ । पार्टी भित्रको लगनशीलता, निरन्तरता र जिम्मेवारीको हिसाबले स्वभावैले सभापतिको उम्मेदवार रहेको उहाँको भनाइ छ ।

यसैगरी सभापतिका अर्का आकांक्षी महेन्द्र केसी नेपाली कांग्रेसको निर्वाचन क्षेत्र (क) का सभापति र मुसिकोट नगरपालिकाका मेयर समेत हुनुहुन्छ । साविक खलंगा गाविसको पार्टी सभापति हुँदै दुई कार्यकाल मुसिकोट नगरपालिकाको सभापतिको जिम्मेवारी सम्हाल्नु भएका उहाँले अब पार्टी राजनीतिको लागि अग्रसर भएको बताउनुभयो । पार्टी भित्र देखिएका समस्या र कमजोरीहरु सुधार गर्न र आम कार्यकर्ताको मनोभावनाको कदर गर्न सक्षम रहेको दाबी गर्नुहुँदै उहाँले जनस्तरका कार्यकर्ता र नेताहरु समेतको सुझावको आधारमा आफू सभापतिको आकांक्षी बनेको बताउनुभयो । सभापति पदको उम्मेदवारीको लागि नेता कार्यकर्ताहरुसँग छलफल गरिरहेको उहाँको भनाइ छ ।

सभापति पदका अर्का आकांक्षी खड्कबहादुर डाँगी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका युवा नेता हुनुहुन्छ । नेवि संघको जिल्ला सभापति हुँदै केन्द्रिय उपाध्यक्ष समेत भईसक्नु भएका उहाँ पार्टीको महाधिवशेन प्रतिनिधि समेत हुनुहुन्छ । डाँगीले पार्टी कार्यकर्ताले निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न पाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसले देशव्यापी रुपमा वडा, पालिका, जिल्ला हुँदै केन्द्रिय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिका अनुसार पुस २१ गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । यस अघि वडा र पालिकाको अधिवेशन मिति तय गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार