काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय तत्काल टुंग्याउने गरी काम गर्न परिपत्र गरेको छ ।
महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराउँदै सदस्यताको विषयमा केन्द्रित हुन जिल्ला सभापतिहरूलाई परिपत्र गरेका हुन् ।
परिपत्रमा भनिएको छ, ‘क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण संकलन गरी वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्कसहित कार्यतालिकामा तोकिएको मितिभित्रै केन्द्रमा पठाइसक्नु पर्नेछ ।’
निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपश्चात् कुनै पनि कारणबाट नवीकरण सदस्यता छुट हुन गएमा त्यस्ता छुट भएका व्यक्तिको छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्रमा अनिवार्य केन्द्रमा पठाउनुपर्ने उल्लेख छ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउन निर्णय गरेकाले सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सदस्यता फारम पठाइएको परिपत्रमा उल्लेख छ ।
परिपत्रमा भनिएको छ, ‘एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पौष १० गतेभित्र र दुई भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पौष ११ गते सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरी केन्द्रमा पठाउनु पर्नेछ ।

