काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्व बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।
नेपाली कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदै यस्तो माग गरेको हो ।
गत पौष १० गते बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।
भेटमा राष्ट्रियसभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए

