सुर्खेत । कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा सरुवा भई आउनु भएका प्रदेश सचिव डा. योगेन्द्र मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढासहित मन्त्रालयका कर्मचारीहरूले सचिव मिश्रलाई स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रममा मन्त्रालयको हालको वस्तुस्थिति, हालसम्मको प्रगति, भइरहेका गतिविधि तथा आगामी कार्यदिशाबारे इन्जिनियर सागर आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले जलस्रोत तथा ऊर्जा क्षेत्र कर्णाली प्रदेशको समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावकारी योजना निर्माण र परिणाममुखी कार्यान्वयनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, नयाँ सचिवको अनुभव र नेतृत्वले मन्त्रालयको कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा प्रदेश सचिव डा. योगेन्द्र मिश्रले मन्त्रालयको जिम्मेवारी ग्रहण गर्न पाउँदा आफूलाई गौरव महसुस भएको बताउनुभयो। उहाँले कर्णाली प्रदेशमा जलस्रोत तथा ऊर्जा क्षेत्रको विकासका अपार सम्भावना रहेको उल्लेख गर्दै नीति, योजना र कार्यान्वयनबीचको समन्वयलाई सुदृढ बनाउँदै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


