मुसिकोट । मुसिकोट नगरपालिका–४ मा सञ्चालनमा रहेको सिस्ने एकेडेमी प्रा.लि.ले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ।
स्थापना दिवसको अवसरमा बिहीबार एकेडेमीले सोलावाङ बजार क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो। विद्यालयका प्रबन्ध निर्देशक विमल कुमार शर्माका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले यस्ता गतिविधिले विद्यार्थीहरूमा सामाजिक चेतना, अनुशासन र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
यसै अवसरमा विद्यालय परिसरमा हिज्जे प्रतियोगिता, वस्तुगत पहिचान तथा कुर्सी दौड (चेयर रेस) जस्ता शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएको एकेडेमीले जनाएको छ।
कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, प्रतिस्पर्धात्मक भावना तथा सहकार्यको विकास गर्न सहयोग पुगेको प्रबन्ध निर्देशक शर्मा बताउनुभयो।


