मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १ सल्लेमा करिब तीन करोड रुपैयाँको लगानीमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण कार्यको शुभारम्भ भएको छ।
बिहिबार भवनको राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो।
भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य रोकायले आँखाको संवेदनशीलतालाई ध्यानमा राख्दै सहज र गुणस्तरीय सेवा प्रदान गर्न भवन निर्माण थालिएको बताउनुभयो । उहाँले भवन तोकिएको समयमा गुणस्तरीय रूपमा निर्माण गर्नुका साथै आँखा उपचार केन्द्रलाई भविष्यमा पूर्ण आँखा अस्पतालको रूपमा विकास गर्न आवश्यक रहेको पनि औंल्यानु भयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रुकुम अस्पतालको सेवा स्वास्थ्य उपचारसँगै चिकित्सा शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। उहाँले यसका लागि सम्भावित योजना र कार्यहरू प्रदेश सरकारले योजनाबद्ध तरिकाले अघि बढाउने जानकारी दिनुभयो। साथै, रुकुम जिल्लासहित कर्णाली प्रदेशका अन्य सम्भावित क्षेत्रहरूमा स्वास्थ्य र शिक्षासम्बन्धी पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिइरहेको पनि उल्लेख गर्नुभयो।
भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य मिलन खड्का, तुलसा मल्ल, नगरप्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुमार पुन लगायतको सहभागिता रहेको थियो।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाअन्तर्गत करिब दुई करोड ८० लाख रुपैयाँको लगानीमा तीन तला र १७ कोठाको नयाँ आँखा उपचार केन्द्रको भवन निर्माण हुने जानकारी केन्द्र प्रमुख धनबहादुर केसीले दिनुभयो। उहाँका अनुसार, भवन निर्माण एक वर्षभित्र सम्पन्न हुने सम्झौता गरिएको छ।


