मुसिकोट । पश्चिम रुकुममा विपन्न तथा आवासविहीन समुदायलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको जनता आवास कार्यक्रमअन्तर्गत४६ वटा घर निर्माण गरिने भएको छ।
पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा समान रूपमा घर निर्माण गरिने भएको छ। निर्वाचन क्षेत्र ‘क’ मा २३ वटा र निर्वाचन क्षेत्र ‘ख’ मा २३ वटा गरी कुल ४६ वटा घर निर्माण गरिने जनाइएको छ।
निर्माण गरिने घरहरू बरन्डासहित दुई कोठे हुनेछन्। यद्यपि, शौचालय भने सम्बन्धित परिवारले श्रमदानस्वरूप अनिवार्य रूपमा निर्माण गर्नुपर्ने छ। कार्यक्रम विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा आवासको पहुँच नपुगेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको हो।
प्रत्येक घर निर्माणका लागि पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमले ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ। चालु आर्थिक वर्षमा जनता आवास कार्यक्रमका लागि जिल्लामा कुल १ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रामचन्द्र बिसीले जानकारी दिनुभयो। उहाँका अनुसार घर निर्माणको प्रक्रिया सुरु भइसकेको छ।
इन्जिनियर प्रमुख बिसीले जनतावास कार्यक्रमले जिल्लाका विपन्न नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा पनि पश्चिम रुकुममा यही कार्यक्रमअन्तर्गत ४६ वटा घर निर्माण गरिएको थियो।

