सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले बुधबार भेरी पम्पिङ आयोजनाको अनुगमन गर्नुभएको छ ।
सन् २०५० सम्म वीरेन्द्रनगरमा हुनसक्ने जनसङ्ख्या वृद्धिलाई मध्यनजर गर्दै अघि बढाइएको उक्त आयोजनाको प्रगति अवस्थाबारे मन्त्री बुढाले स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनमा मन्त्रालयका सचिव डा. योगेन्द्र मिश्र, सिडिई पदम राज देवकोटालगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
अनुगमनका क्रममा मन्त्री बुढाले आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेकोप्रति प्रशंसा गर्दै कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
आयोजनामा संघीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयको ८० प्रतिशत, कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको १४ प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ७ प्रतिशत लगानी रहेको छ ।
आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी सिन्ज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसन ले गरिरहेको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका प्रमुख संजिव कुमार साहका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत पुगेको छ ।
आयोजनाको पहिलो चरणमा तीन अर्ब पाँच करोड आठ लाख १५ हजार रुपैयाँ लागतमा काम भइरहेको छ । भेरी नदीबाट करिब सात किलोमिटर दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणकाे काम भइरहेको छ ।
भेरी पम्पिङ आयोजना सन् २०२७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
जलस्रोत मन्त्री बुढाद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन, भौतिक प्रगति १४ प्रतिशत

oplus_0

