काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व पुगेको बताएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व आइपुगेका ‘प्रचण्ड’ले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ । म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो,’ उनले भने ।
रुकुम ओर्लिएलगत्तै ‘प्रचण्ड’ले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई स्मरण गरे । उनले शान्ति प्रक्रियाको महत्वपूर्ण निर्णय भएको सोही केन्द्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई गति दिने दाबी गरेका छन् ।
रुकुमपूर्व पुगेलगत्तै ‘प्रचण्ड’ चुनावी तयारीमा जुटेका छन् । उनले जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरूसँग राजनीतिक छलफल र परामर्श तीव्र पारेका छन् ।

