मुसिकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा विभिन्न १२ राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसपटकको निर्वाचनलाई जिल्लाको राजनीतिक विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
साबिक माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका पूर्वमन्त्री जनार्दन शर्मा यसपटक नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन्। लामो समयदेखि जिल्लामा स्थापित राजनीतिक विरासत जोगाउनु शर्माका लागि मुख्य चुनौती बनेको छ।
यता, सो विरासतलाई भत्काउने होडमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।
नेपाली कांग्रेसबाट युवा नेता राजु केसी उम्मेदवार हुनुहुन्छ। कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि समेत रहनुभएका केसीले जेनजी आन्दोलनले मुलुकमा सुशासनको माग गरेको उक्त पुस्ताको आवाज सम्बोधनका लागि पनि आफ्नो उम्मेवारी रहेको बताउनुभयो ।
नेकपा (एमाले) बाट जिल्ला अध्यक्ष नन्दराम देवकोटा उम्मेदवार हुनुहुन्छ। देवकोटा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा रहनुभएको थियो।
त्यसैगरी नेकपाबाट केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा उम्मेदवार बन्नुभएको छ। शर्मालाई पनि जनार्दन शर्माको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। उहाँले जिल्लामा कम्युनिस्ट विरासत जोगाउन रुकुमेली जनताको चाहना र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मानबहादुर शाही, नेकपा (माओवादी) को तर्फबाट चन्द्र बहादुर बुढा, उज्यालो नेपाल पार्टीको तर्फबाट नरेन्द्र केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्काले उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका सत्य नारायण श्रेष्ठ, नेकपा (संयुक्त) का शेरबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक र आम जनता पार्टीका प्रेमा परियार नेपालीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
स्वतन्त्र तर्फबाट प्रविण नेपालले उम्मेदवारी दर्ता गराउन निवेदन दिएतापनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकृत गरेको जनाएको ।

