काठमाडौँ । रुकुम पूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमा शंकरप्रसाद यादवका अनुसार, गाडीहरू फसेको सूचना लगत्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।
‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’
अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको प्रहरीले जनाएको छ ।

