सुर्खेत । डोल्पामा उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दिलबहादुर विष्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार कांग्रेसका उम्मेदवार तथा सहमहामन्त्री कर्णबहादुर बुढाले विष्टकै निवासमा पुगेर उनलाई पार्टीमा स्वागत गरेका हुन्।
कांग्रेस प्रवेश गरे पनि विष्टको उम्मेदवारी भने कायमै रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि शुक्रबार मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गर्दै कांग्रेस उम्मेदवार बुढालाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्। भण्डारीले पनि उम्मेदवारी फिर्ता नलिएकाले उनको उम्मेदवारीसमेत कायम रहने निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामा नेपाली कांग्रेसबाट कर्णबहादुर बुढा, नेकपाबाट धनबहादुर बुढा, एमालेबाट लंकबहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिप्रसाद डाँगी र स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी चुनावी प्रतिस्पर्धामा छन्।

