क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिमका कांग्रेस उम्मेदवार

क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिमका कांग्रेस उम्मेदवार

मुसिकोट। आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवारहरूले क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलनको सुरुवात गरेका छन्।

प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी र समानुपातिकतर्फका उम्मेदवार मानबहादुर नेपालीले मतदाताले क्यूआर कोड स्क्यान गरेर सुझाव दिन सकिने व्यवस्था सहित सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गरेका हुन्।

क्यूआर कोडमार्फत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ। यसका लागि गुगल फाराम तयार गरिएको छ, जहाँ मतदाताले आफ्ना सल्लाह, सुझाव तथा अपेक्षा सहजै राख्न सक्ने उम्मेदवार राजु केसीले जानकारी दिनुभयो। उहाँले समृद्ध रुकुम पश्चिम निर्माण गर्न र विगतमा अधुरा रहेका विकासका काम पूरा गर्न मतदाताको सक्रिय सुझाव आवश्यक रहेको बताउँदै क्यूआर कोडमार्फत सहभागिता जनाउन आग्रह गर्नुभयो।

उम्मेदवार मानबहादुर नेपालीका अनुसार क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिनेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार