माघ २० गते हिउँसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह

माघ २० गते हिउँसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह

फाईल फोटो

काठमाडौँ । माघ २० गते देशका विभिन्न भागमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना छ।

उनका अनुसार लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा पनि हल्का हिउँ र पानी पर्न सक्ने देखिएको छ। त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका हिमाली र उच्च पहाडी क्षेत्रलाई जल तथा मौसम विज्ञान विभागले पहेँलो संकेत (येलो अलर्ट) जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ।

माघ महिनामा हिउँ र पानी गराउने प्रणाली नेपाल भित्रिएको यो तेस्रो पटक हो। यसअघि ९–१० माघ र १३–१४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा हिउँ र पानी परेको थियो। ९–१० माघको तुलनामा १३–१४ माघको प्रणाली केही शक्तिशाली देखिएको थियो। तर २० माघदेखि प्रभाव देखिने नयाँ प्रणाली भने अघिल्लो पटकको भन्दा कमजोर रहने अनुमान गरिएको छ।

वरिष्ठ मौसमविद् पौडेलका अनुसार यो प्रणाली कमजोर भएकाले अघिल्लो हप्ताजस्तो धेरै हिउँ र पानी पर्ने सम्भावना कम छ। २१ माघ बुधबारदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने जानकारी पनि उनले दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार