मुसिकोट। नेपाली कांग्रेस रुकुमपश्चिमले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएको छ। जिल्लाका विभिन्न पालिकाहरूमा कार्यतालिका बनाएर कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको छ।
मंगलबारदेखि बाँफिकोट गाउँपालिकामा सुरु गरिएको घरदैलो अभियान हालसम्म वडा नम्बर १, २, ३, ४, ५ र ९ मा सम्पन्न भइसकेको गाउँपालिका सभापति धिरेन्द्र कुमार शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी वडाहरूमा आज अभियान सञ्चालन गरिने छ।
घरदैलो अभियानका क्रममा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवार राजु केसीसहित जिल्ला तथा गाउँस्तरका नेताहरूले घर–घर पुगेर मतदातासँग भेटघाट गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष छलफल गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपाली चुनावी प्रतिस्पर्धामा छन्।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले लामो समयसम्म आफूले रोजेको उम्मेदवारलाई मत हाल्न नपाएको गुनासो व्यक्त गरेका छन्। “धेरै चुनावमा हामीले रुखमा भोट हाल्न पाएनौँ, यसपालि आफ्नै पार्टीका उम्मेदवार घरमै आएर कुरा गर्दा निकै आत्मीय महसुस भयो,” बाँफिकोट–५ का कर्णवीर दाहालले भन्नुभयो।
स्थानीयस्तरमै उम्मेदवारसँग प्रत्यक्ष संवाद हुन पाउँदा यसपटकको निर्वाचनप्रति उत्साह थपिएको स्थानीयवासीहरूको भनाइ छ।
रुकुमपश्चिममा कांग्रेसको घरदैलो अभियान तीव्र, बाँफिकोटका ६ वडामा सम्पन्न

oplus_0

