मुसिकोट । रुकुम पश्चिममा माघ २७ गतेदेखि फागुन १ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाको सबै पालिकामा एचपिभी खोप अभियान सञ्चालन हुने भएको हो ।
विद्यालय तहमा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार नियमित खोप कार्यक्रम अन्तर्गत जिल्ला भरका १ हजार ८ सय ५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । जसमध्ये विद्यालयमा अध्ययनरत १ हजार ७ सय ७९ र विद्यालयको पहुँच बाहिरका ७१ गरेर कुल १८ सय ५० रहेका छन् ।
कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई यो खोप लगाइने छ । त्यस्तै विद्यालय बाहिर रहेका १० वर्षका बालिकालाई पनि यो खोप दिइने उहाँको भनाई छ ।
एचपिभी खोप सञ्चालनका लागि जिल्लाभरका १ सय २८ विद्यालय र ७६ स्वास्थ्य केन्द्रहरूबाट खोप सञ्चालन गरिने छ ।
विद्यालयमा दिइने एचपिभी खोप कार्यक्रममा एक सय २८ जना स्वास्थ्यकर्मी खटिने र विद्यालयमा छुट भएका किशोरीका लागि भने स्वास्थ्य संस्थाबाटै उक्त खोप दिने व्यवस्था मिलाइएको अधिकृत खड्काले जानकारी दिनुभयो । खोप अभियानको लक्ष्य पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्नुहो ।

