चौरजहारी । नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु केसी सहित चौरजहारी नगरपालिका–१४ बाट घरदैलो अभियान सुरु गरेको छ।
यसअघि त्रिवेणीका केही वडा, बाँफिकोट र सानीभेरीका विभिन्न वडामा घरदैलो अभियान सम्पन्न गरिसकेको कांग्रेसले बुधबारदेखि चौरजहारी क्षेत्रमा अभियान अघि बढाएको हो। उम्मेदवार केसीसँगै नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह लगायतका नेता–कार्यकर्ता अभियानमा सहभागी हुनहुन्छ ।
आज चौरजहारी नगरपालिका वडा नम्वर १३ को घुगुती, वडा नम्वर १४ को भदाले र लामाडाँडामा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको चौरजहारी नगर सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि नगर कार्यसमितिले नगरका विभिन्न वडाहरुमा पहिलो चरणको घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो । उम्मेदवार तथा नेताहरुको सहितको टोली नगरपालिकाका सबै वडाहरुमा पुगेर घरदैलो गर्ने कार्यक्रम रहेको ओलीले जनाउनुभयो ।

घरदैलो अभियान अन्तर्गत मतदातासँग भेटघाट गर्दै स्थानीय समस्याबारे छलफल भइरहेको छ। विशेषगरी खानेपानी र सिँचाइको अभाव, सडक र विद्युत् सेवा सम्बन्धी समस्याहरू मतदाताले उठाइरहेका छन्। टोलीले स्थानीयका गुनासा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
कांग्रेसले चुनावी अभियानलाई मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा संकलनमा केन्द्रित गरेको बताएको छ।घरदैलो अभियान निरन्तर सञ्चालन हुने नगर सभापति ओलीले जानकारी दिनुभयो । उम्मेदवारसहितको टोलीलाई स्थानीय कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गरेका थिए ।

अभियान कार्यक्रममा उमेदवार केसीसहित पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, महासमिती सदस्य तिलक भण्डारी, महाधिवशेन प्रतिनिधि खड्कबहादुर डाँगी, पार्टीका कर्णाली प्रदेश समितिका सदस्य बलबिर गोसाई, क्षेत्रिय सभापति भद्रबहादुर बिष्ट, जिल्ला पार्टीका संगठन विभाग प्रमुख प्रमुख यदु कुमार आचार्य, नगर सभापति प्रेमबहादुर ओली, युवा नेता शिव आचार्य, तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, प्रदेश प्रतिनिधी दिपा डाँगी, वडा सभापतिहरु लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


