मुसिकाेट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल महिला संघ रुकुम पश्चिमले चौरजहारीमा महिला भेला सम्पन्न गरेको छ।
बिहीबार चौरजहारी नगरपालिका–११ को खोलागाउँ चौफाबजारमा नगरस्तरीय महिला भेला आयोजना गरिएको हो।
भेलामा सहभागी महिलाहरूलाई निर्वाचन केन्द्रित प्रशिक्षण तथा अनुशिक्षण प्रदान गरिएको नेपाल महिला संघ रुकुम पश्चिमका सभापति मनिषा भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका उम्मेदवारलाई विजय गराउने उद्देश्यसहित विभिन्न वडा तथा टोलमा खटिने गरी १४४ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।
जुनकिरी कुमाईको संयोजकत्वमा गठित उक्त समितिको सह–संयोजकमा कविता बिष्ट रहनुभएको छ। समितिमा चौरजहारी नगरपालिकाका १४ वटै वडाका महिला सभापतिहरू सदस्यका रूपमा समावेश छन्।
महिला संघ रुकुम पश्चिमका जिल्ला सभापति मनिषा भण्डारीका अनुसार समितिले वडा–वडामा मतदाता शिक्षा, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गर्नेछ। उहाँले जिल्लाका सबै पालिकामा यस्ता कार्यक्रम सम्पन्न गरिने जानकारी दिँदै भोलि त्रिवेणी गाउँपालिकामा पनि भेला आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा नेपाल महिला संघ रुकुम पश्चिमका सभापति मनिषा भण्डारी, महिला संघ महाधिवेशन प्रतिनिधि निर्मला गिरी, जिल्ला सचिव बालकुमारी गिरी, जिल्ला सदस्य कमला केसी, अन्जना केसी, नैना खड्का लगायत १४ वटै वडाका महिला संघका सभापतिहरूको उपस्थिति रहेको थियो।


