मुसिकाेट । नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी र समानुपातिकतर्फका उम्मेदवार मानबहादुर नेपालीसहित मुसिकोट नगरपालिकामा घरदैलो अभियान सञ्चालन गरेको छ।
यसअघि जिल्लाका चौरजहारी, त्रिवेणी, बाँफिकोट र सानीभेरीका विभिन्न वडा तथा टोलमा घरदैलो अभियान सम्पन्न गरिसकेको कांग्रेसले शनिबार मुसिकोट नगरपालिका वडा नम्बर ४, १२ र १४ का विभिन्न टोलहरूमा उम्मेदवारसहित घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।
आज वडा नम्बर १ को सोलाबाङ, बजार क्षेत्र, १२ को जमारु र १४ को छिवाङखोला र लोरीबाङमा घरदैलो तथा मतदानसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको मुसिकोट नगर सभापति प्रेम ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि नगर कार्यसमितिले नगरका विभिन्न वडाहरूमा पहिलो चरणको घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो। उम्मेदवार तथा नेताहरूसहितको टोली नगरपालिकाका सबै वडाहरूमा पुगेर घरदैलो गर्ने कार्यक्रम रहेको उहाँले जनाउनुभयो।
घरदैलो अभियानअन्तर्गत मतदातासँग भेटघाट गर्दै स्थानीय समस्याबारे छलफल भइरहेको छ। विशेषगरी खानेपानी तथा सिँचाइको अभाव, सडक र विद्युत् सेवासम्बन्धी समस्याहरू मतदाताले उठाइरहेका छन्। टोलीले स्थानीयका गुनासा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
कांग्रेसले चुनावी अभियानलाई मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा संकलनमा केन्द्रित गरेको बताएको छ। घरदैलो अभियान निरन्तर सञ्चालन हुने नगर सभापति ओलीले जानकारी दिनुभयो। उम्मेदवारसहितको टोलीलाई स्थानीय कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका थिए।
अभियान कार्यक्रममा प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी, समानुपातिकतर्फका उम्मेदवार मानबहादुर नेपालीसहित पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, पार्टीका उपसभापति सुरत जङ मल्ल, कोषाध्यक्ष मोहविर खड्का, सहसचिव यज्ञ बिष्ट, पार्टीका कर्णाली प्रदेश सदस्य सीता वली, क्षेत्रीय सभापति एवं मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसी, नेपाल महिला संघ जिल्ला सभापति मनिषा भण्डारी, नगर सभापति प्रेम ओली, युवा नेता शिव आचार्य, तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, वडा नम्बर १४ का वडा अध्यक्ष गोवर्धन ओलीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अभियानअन्तर्गत भोलि मुसिकोट नगरपालिकाका वडा नम्बर २, ३ र १३ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिने नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ।


