तीन दशकपछि रुकुम पश्चिममा कांग्रेसको ‘कमब्याक’ रणनीति

तीन दशकपछि रुकुम पश्चिममा कांग्रेसको ‘कमब्याक’ रणनीति

मुसिकोट । सशस्त्र द्वन्द्वपछि लामो समयसम्म प्रतिनिधिसभामा उपस्थिति जनाउन नसकेको रुकुम पश्चिममा यसपटक कांग्रेसले पुरानो राजनीतिक आधार फर्काउने लक्ष्यसहित आक्रामक चुनावी अभियान थालेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले युवा नेता राजु केसीलाई उम्मेदवारका रूपमा अघि सारेको हो। परिवर्तन र सुशासनलाई मुख्य नारा बनाउँदै केसी यतिबेला जिल्लाका गाउँ–बस्तीमा घरदैलो अभियानमा व्यस्त छन्।

नेपाली कांग्रेसका जिल्ला सहसचिव यज्ञ बिष्टका अनुसार २०५१ सालको मध्यावधि निर्वाचनमा जीत हासिल गरेपछि कांग्रेसले निरन्तर पराजय व्यहोर्दै आएको छ। २०५६ सालको निर्वाचनमा तत्कालीन विद्रोही समूहको निशानामा परेको कांग्रेसले पराजय भोग्नुपरेको थियो। त्यसपछि शान्ति प्रक्रियापछिका संविधानसभा र प्रतिनिधिसभा निर्वाचनहरूमा वामपन्थी शक्तिको दबदबा रहँदै आएको छ। २०६४ र २०७० सालका संविधानसभा निर्वाचनदेखि २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी केन्द्रले जिल्लामा निरन्तर जीत हात पारेको तथ्यांकले देखाउँछ।

यसपटक भने जिल्लाको राजनीतिक वातावरण केही फरक बनेको कांग्रेसको बुझाइ छ। ठूला दलहरूमा देखिएको विभाजन, पूर्व माओवादी नेताहरूको अलग राजनीतिक यात्रा, नयाँ दलहरूको सक्रियता र नयाँ अनुहारको उम्मेदवारीका कारण मतदाताको रोजाइ परिवर्तनतर्फ उन्मुख भएको बिष्ट बताउँछन्। मतपरिणामको हिसाबले सधैं दोश्रो स्थानमा सीमित रहँदै आएको कांग्रेस यसपटक प्रतिस्पर्धामा अग्रस्थानमा पुग्ने दाउमा रहेको उनको दाबी छ।

उम्मेदवार राजु केसीले पुस्तान्तरण, सुशासन र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउँदै आफू मतदाताको अपेक्षा पूरा गर्न सक्ने पात्र भएको दाबी गरे। घरदैलो अभियानका क्रममा ज्येष्ठ नागरिकको आशीर्वाद, युवाको साथ र आम मतदाताको उत्साहजनक प्रतिक्रिया पाएको उनको भनाइ छ। लामो समय एउटै दलको वर्चस्व रहँदा विकासका काम अपेक्षित रूपमा अघि बढ्न नसकेको, रोजगारीका अवसर सिर्जना नहुँदा युवाहरू विदेशिन बाध्य भएको र योजनाको गुणस्तरमा प्रश्न उठ्दै आएको गुनासो व्यापक रहेको उनले बताए।

स्थानीय मतदातामाझ विगतकै निरन्तरता भन्दा पनि विकल्प खोज्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। राजनीतिक आस्थाका आधारमा अवसरको विभाजन हुने गरेको गुनासो, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती र पारदर्शिताको अभावप्रति असन्तुष्टि बढेको छ। यसले नयाँ पुस्तालाई परिवर्तनको पक्षमा उभ्याएको कांग्रेसजनको विश्लेषण छ।

यसपटकको निर्वाचन परम्परागत राजनीतिक शक्ति, नयाँ दल र वैकल्पिक धारबीचको प्रतिस्पर्धाका रूपमा विकसित हुँदै गएको छ। करिब तीन दशकदेखि वामपन्थी राजनीतिले केन्द्र बनाएको रुकुम पश्चिममा लोकतान्त्रिक धारको पुनरुत्थान हुने अपेक्षा कांग्रेस कार्यकर्ताले गरेका छन्। आगामी निर्वाचनले जिल्लाको राजनीतिक दिशा कुन बाटो समात्छ भन्ने कुराले राष्ट्रिय राजनीतिमा समेत संकेत दिने स्थानीय विश्लेषकहरूको बुझाइ छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार