आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ने.क.पा. माओवादी रुकुम पश्चिमले प्रतिबद्धता सार्वजनिक गरेको छ ।
मंगलबार जिल्लाको मुसिकोट नगरपालिका ५ मा रहेको होटेल श्री मा पत्रकार सम्मेलन आयोजना गरेर माओवादीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।
कार्यक्रममा उम्मेदवार चन्द्र बहादुर बुढाले १३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले ग्रामीण अर्थतन्त्र (कृषि, पर्यटन क्षेत्रको विकास, जलविद्युत क्षेत्रको विकास, बहुमुल्य जडिबुटी, बनस्पतीको व्यवसायिक खेती, यसको संरक्षण र सम्बद्र्धन), शिक्षा, स्वास्थ्य सेवा, नागरिक रोजगारी, लघु तथा सीपमुलक व्यवसाय, सञ्चार क्षेत्र र सडक तथा पूर्वाधारका क्षेत्रमा गर्न सकिने कामहरु प्रतिबद्धता पत्रमा समावेश गरिएको जनाउनुभयो ।
त्यसैगरी युवा तथा खेलकुद, सामाजिक विकास, सुशासन, कला, साहित्य र संस्कृतिको विकास, पर्यावरण, दिगो विकासको अवधारणमा आधारित स्मार्ट ग्रामीण गाउँ र ग्रामीण सहरको विकास र यातायात र सूचना सञ्चार क्षेत्रमा गरिने योजनाहरुको बारेमा प्रतिबद्धता गरिएको छ ।
उम्मेदवार बुढाले “रुकुमको विकास – जनताको अधिकार”, “कृषि , पर्यटन, जलविद्युत र पूर्वाधार – आत्मनिर्भर रुकुमको आधार”, “रोजगार शिक्षा र स्वास्थ्य हाम्रो – पहिलो प्राथमकिता” भन्ने नाराका साथ बिशेष प्रतिबद्धताहरु सार्वजनिक गर्नुभयो । यसका साथै उहाँले जनतासँग झुठो आश्वास नदिने, जनताकै बिचमा रहने, विकासलाई गति दिने र रुकुम पश्चिमलाई नमूना जिल्ला बनाउने वाचा समेत गर्नुभएको छ ।

