मुद्दा दर्ता गरिएका मध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तवर्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको जिल्ला अदालत रुकुम पश्चिमका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिएका छन् । उनका अनुसार आज मुद्दा दर्ता गरिएको र साेमबारबाट थुनछेक बहस सुरु गरिने छ ।
मुद्दा लागेकामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् । गएको १० जेठमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीका स्थानीयहरुको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।
घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा चौरजहारी नगरपालिका -८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २९ जना पक्राउ परेका छन् ।