मुसिकोट । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा रुकुम पश्चिममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ।
उम्मेदवारसहित घरदैलो अभियानमा रहेका कांग्रेसको टोलीले पार्टी प्रवेश कार्यक्रममार्फत नयाँ सदस्यहरूलाई स्वागत गरेको छ।
मंगलबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना र वडा नम्बर ८ का ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दुबै स्थानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी, समानुपातिकतर्फका उम्मेदवार मानबहादुर नेपाली, पार्टीका प्रदेश महामन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय लगायतको टोलीले नवप्रवेशीहरूलाई टीका–खादा लगाएर स्वागत गरेका थिए।
नगर सभापति प्रेमबहादुर ओली का अनुसार वडा नम्बर ७ बाट देवबहादुर ओली, मानबहादुर खत्री र पटु ओली कांग्रेसमा प्रवेश गरेका हुन्। देवबहादुर ओली २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार तथा पार्टीका सक्रिय कार्यकर्ता थिए। अन्य दुई जना पनि एमालेको वडा कमिटीमा बसेर काम गरेका थिए।
यसैगरी वडा नम्बर ८ बाट २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र तर्फबाट वडा सदस्यका उम्मेदवार भीमबहादुर खत्री पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीसँगै पहल सिंह दमाई, कृष्णबहादुर खड्का, इखलाल ओली, तुलाराम दमाई, अमरसिंह बिक र इन्द्रसिंह बिकले पनि कांग्रेस प्रवेश गरेका छन्।
यस्तै आज (बुधबार) आठविसकोट नगरपालिका वडा नम्बर २ का नेकपा एमालेका वडा अध्यक्ष धनबहादुर बोहरा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आठविसकोटको राडिबजारमा आयोजित कार्यक्रममा उनलाई नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति धिरेन्द्र बटाला, जिल्ला सचिव तारक शाही तथा आठविसकोट नगर सभापति अमृत बोहरा ले टीका–खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।
यस्तै खलंगा मठमा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका वडा नम्बर १० का वाईसीएल सदस्य मनमोहन खड्काले पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी, समानुपातिकतर्फका उम्मेदवार मानबहादुर नेपाली तथा पार्टीका प्रदेश महामन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय सहितको टोलीले नवप्रवेशीहरूलाई टीका–खादा लगाएर स्वागत गरेको हो।



