काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई कांग्रेसलाई विजयी गराउन अपिल गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले सबै मतदातालाई मतदानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, “फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत देशभरका सातै प्रदेशका सबै मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिह्न ‘रुख’मा स्वस्तिक छाप लगाई भारी बहुमतका साथ विजयी गराइदिनुहुन हृदयदेखि हार्दिक अनुरोध गर्दछु।”
खड्काले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै प्रत्यक्ष र समानुपातिक दुवै तर्फ कांग्रेसको चुनाव चिह्न ‘रुख’मा मतदान गर्न अपिल गरेका छन्।
यसअघि गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट सहमति बेगर तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र विवाद देखिएको छ।
१४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ।

