तीन दशकपछि रुकुम पश्चिमका गाउँमा निर्वाध घुम्यो कांग्रेस

तीन दशकपछि रुकुम पश्चिमका गाउँमा निर्वाध घुम्यो कांग्रेस

सशस्त्र विद्रोहको उद्गम थलो रुकुम । माओवादीले थालेको हिंसात्मक युद्धले रुकुममा कांग्रेस भएकै कारण ८४ जनाले ज्यान गुमाए । उनीहरुले बरु ज्यान दिन तयार भए तर, कांग्रेसको विचारधारा छोड्न चाहेनन् । गाउँमा माओवादीलाई आफूले पकाएको भात खुवाउनदेखि चन्दा दिन तयार भएर मात्रै भएन । माओवादीले ज्यानै लिए ।

रुकुमका गाउँ गाउँमा ज्यानको बाजी थापेर उतिबेला संगठन जोगाएका कांग्रेसीहरुका लागि २०८२ एउटा अवसर छ ।

२०५१ सालमा गोपालजी जंग शाहले चुनाव जितेपछिका निर्वाचनबाट कांग्रेस तंग्रीन सकेको छैन् । २०५५ फागुन २१ गते नेकपा एमालेका उमेद्वार यदु गौतमलाई माओवादीले हत्या गरेपछि २०५६ मा तिर्था गौतमले चुनाव जितिन । जसका कारण ०५१ पछि कांग्रेस रुकुममा प्रतिपक्ष छ । तर, यदुको हत्या भएकै दिन एमालेले उनै माओवादीका कमाण्डर जनार्दन शर्मालाई मत दिदैंछ ।

२०५६ को चुनावमा मत माग्न गाउँ नै जान नपाएको गुनासो उतिबेलाका कांग्रेस उमेदवार गोपालजी जंग शाह बताउछन् । कतिपय स्थानमा प्रहरीको पोशाक नै लगाएर मत माग्न गएको तर, खुल्ला रुपमा गाउँमा मत माग्न जान नपाएको गुनासो शाहको छ । दश बर्षको सशस्त्र विद्रोहका बेला कांग्रेसका नेताहरु गाउँ पस्न सकेनन् ।

तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएपनि रुकुममा निष्पक्ष र धाँधली रहित निर्वाचन हुन सकेन । कांग्रेस र एमालेका उमेदवार रुकुमका गाउँ गाउँमा जान सकेनन् । माओवादीले जिल्लाका विकट मानिएका क्षेत्रमा न प्रचारप्रसार नै गर्न दिए न त मतदान केन्द्रमा प्रतिनिधि नै बस्न दिए । माओवादीकै हालीमुहाली चल्यो । कांग्रेस एमालेका उमेदवार, कार्यकर्ताहरु पनि कुटिए । मत माग्न नै जान अवरोध गरियो ।

२०६४, २०७० र २०७४ मा कांग्रेसले मत माग्न निक्कै हम्मे–हम्मे प¥यो । मत माग्न पुगेका कांग्रेसको चुनावी प्रचार–प्रसार टोलीले पकाएको भात फालिदिने देखि लखेट्ने काम माओवादीले गरेको रुकुम कांग्रेसका नेताहरु बताउछन् । आठविसकोट, गोतामकोट, स्यालाखदी, खोलागाउँ, बाँफिकोट, अर्मा लगायतका क्षेत्रमा हिडेको चुनावी टोलीलाई माओवादीले ठाउँ–ठाउँमा अवरोध गर्थो ।

माओवादीकै अवरोधले संगठन जोगाएका कांग्रेसीलाई समेत उमेदवारले भेट्न पाएनन् । घरदैलो त परको कुरा आफ्नै नेताहरु भेट्न नसक्दा भएका कार्यकर्ता समेत त्रासमा थिए । जसले स्वच्छ प्रतिष्पर्धा भएन ।

२०७९ को चुनावमा गठबन्धनका कारण रुकुमका कांग्रेस रुष्ट बने । उनीहरुले जनार्दन शर्मालाई मत दिन राजी भएनन् । जसका कारण कांग्रेसको मत नै बिभाजन हुन पुग्यो । त्यो कुरा अहिले पनि तल्लो तहका कांग्रेस कार्यकर्ताले नेताहरुलाई प्रश्न सोधिरहेका छन् हामीलाई उतिबेला माओवादीलाई भोट हाल्न किन लगाएको ?

अहिले भने अवस्था फेरिएको छ । माओवादी फुटको असर सबैभन्दा बढी रुकुम पश्चिममा परेको छ । माओवादी पार्टी नै नरहेको फाइदा कांग्रेस रुकुमलाई देखिएको छ । जनार्दन शर्मा प्रगतिशिल लोकतान्त्रिक पार्टी बनाएर चुनावी मैदानमा छन् । गोपाल शर्मा नेपाली कम्युनिष्ट पार्टी माओवादीको धार भन्दै चुनावी प्रतिष्पर्धामा छन् ।

यी दुबै पूर्व माओवादी धारका नेताहरुले जनमत आ–आफ्नो पक्षमा भएको जिकिर गर्दैछन् । त्यहाँ रास्वपाका मानबहादुर शाही र नेकपा(माओवादी) उनी दुबै पनि उही धारका हुन् ।

रुकुममा यतिबेला जनार्दन र गोपालबीच मै कार्यक्रम गर्न नदिने, अवरोध गर्नेदेखि कुटाकुटको घटना बाहिरिरहेका छन् । उनीहरुकै बीचमा आरोप–प्रत्यारोप चलेको छ । तर, रुकुमको कांग्रेस २०६४ पछि पहिलो पटक निर्वाध रुपमा गाउँ घुमेको छ ।

रुकुम पश्चिमको बस्ती बस्ती, टोल टोलमा र घर–घरमा कांग्रेसको झण्डा लिएर पुगेको छ । कांग्रेसको चुनावी अभियानलाई यो पटक माओवादीको कुनै धारले अवरोध गरेन । स्वच्छ तरिकाले नै प्रचार–प्रचार गर्न पाएको अनुभूति नेताहरुले गरेका छन् ।

झण्डा लिएर कांग्रेस आठविसकोटका १४ वटै वडामा पुग्यो । मुसिकोट, त्रिबेणी, सानोभेरी, चौरजहारी, बाँफीकोट ७३ वटै वडामा कांग्रेस उमेदवार र नेताहरु लिएर पुगेको छ । आफ्ना चुनावी एजेण्डा र विगतमा कार्यकर्ताले पाएको दुखको पीडा सुनेको छ ।

कांग्रेस उमेदवार राजु केसी घरदैलोमा पुग्दा कांग्रेसका कार्यकर्ता मात्रै होइन माओवादीबाट निर्वाचित जनप्रतिनिधि र एमालेका नेताहरुले स्वागत गरेका थिए । बाजागाजा सहित कांग्रेसकै उमेदवारसँग उनीहरु छमछमी नाचेका थिए । उनीहरुको भनाई थियो यो पटक कांग्रेसले जित्नैपर्छ ।

जिल्लामा विकास निर्माणमा भएका अनियमितता छानविनको मुद्धा उठाउन मतदाताले आग्रह गरेका छन् । कांग्रेसलाई साथ दिन आतुर भएको भन्दै थुप्रै गुनासा सुनाएका छन् । कांग्रेस भएकै कारण गाउँमा विभिन्न सेवा सुविधाबाट बञ्चित भएको गुनासो मतदाताको छ ।

हिजो उमेदवारलाई गाउँ पस्न नदिएको माओवादी अर्थात् उतिबेलाका कमाण्डर जनार्दन शर्मा नै अहिले आफूमाथि अवरोध भएको गुनासो गरिरहेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमै प्रलोपा उमेद्वार पूर्व गृहमन्त्री शर्माले नै आफ्नो प्रचार–प्रसारमा अवरोध गरेको गुनासो गरे । उनले भने बाटो अवरोध गर्ने र कार्यकर्तालाई कुटपिट गर्ने गरेको गुनासो गरेका थिए । निर्वाचन निष्पक्ष र धाधलीरहित सम्पन्न गर्न समेत शर्माले आग्रह गरे । शर्मालाई गाउँमा अवरोध हुँदा कांग्रेस भने बस्ती बस्तीमा पुगेको छ ।

जिल्लाका नेताहरुको सक्रियता, तल्लो तहका कार्यकर्ता र मतदाता कांग्रेसमा मतदान गर्न आतुर छन् । कार्यकर्ता भन्दै छन् करिव तीन दशकदेखिको कम्युनिष्टको बिरासत अहिले भत्काउँछौं र विजयको झण्डा उठाउँछौं ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार