काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पठाएको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीमा दलित तर्फ पहिलो नम्बरमा थिए मानबहादुर नेपाली । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागीमध्येका केही नेताले समेत उनलाई फोन गरी अग्रिम बधाइ दिएका थिए । विभिन्न सञ्चार माध्यममा पनि उनी प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको भन्दै नामसमेत प्रकाशित भएको थियो । आफन्त र सुवेच्छुकहरुले समेत बधाइ दिदै खुसीयाली साट्दै उनलाई फोन गरिरहेका थिए । ‘साथीहरुको बधाइ र सुवेच्छाले म उत्साही थिए,’ उनले भने, ‘तर अन्तिम अवस्थामा नाम काटिएपछि पार्टीकै निर्णयले दुःखी बनाएको छ ।
उनी यसअघि पनि ३ पल्ट समानुपातिक सूचीमा थिए । यसपल्ट पहिलो नम्बरमा भएकाले कार्यकर्तासमेत उत्साही थिए । तर पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयले जिल्लास्तरीय नेता–कार्यकर्तासमेत दुःखी छन् । ‘धेरै प्रतिक्षापछि रुकुमले प्रतिनिधिसभामा सांसद पाउने कुरामा ढुक्क थियौ,’ जिल्ला सभापति प्रेमप्रकाश ओलीले भने, ‘तर पार्टीको निर्णयले हाम्रो उत्साह निरासामा बद्लिएको छ ।’
कांग्रेसले दलित पुरुष कोटाबाट नेपालीलाई समानुपातिक सांसदका लागि आइतबार साँझ मात्रै सिफारिस गरेको थियो। तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीमा भने उनको नाम हटाइएको छ।
नेपालीको स्थानमा मनमाया विकलाई समावेश गरिएको छ। अन्तिम समयमा उनको नाम हटाएर अर्काको नाम राखिदा अन्याय भएको महसुस भएको नेपाली कांग्रेस मुसीकोट–१३ का वडा सभापति दलबहादुर खत्रीले बताए । ‘रुकुम पश्चिममा यसपटक धेरै प्रयास गर्दा गर्दै पनि कांग्रेसले प्रत्यक्षतर्फ जित निकाल्न नसकेको अवस्थामा समानुपातिकबाट सांसद पाउने आशा गरिएको थियो,’ उनले भने, ‘यो निर्णयले उनको योगदानको अवमुल्यन भयो नै हाम्रो आशामाथि पनि तुसारापात भयो ।
मान बहादुर नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने उनी रुकुमका पूर्व जिल्ला सभापतिसमेत हुन् । उनी रुकुमको पहिलो केन्द्रीय सदस्य समेत हुन् । २०५२ सालमा नेपाल विद्यार्थी संघ रुकुमका सभापति बनेर उनले औपचारिक रूपमा सक्रिय राजनीति सुरु गरेका थिए। त्यतिबेला देशमा माओवादी सशस्त्र द्वन्द्व चर्किरहेको थियो र रुकुम त्यसको प्रमुख उद्गमस्थलका रूपमा चिनिन्थ्यो। यस्तो जटिल र जोखिमपूर्ण परिस्थितिमा पनि उनले प्रजातन्त्र र नेपाली कांग्रेसको संगठन जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसपछि २०५४ सालमा उनी नेपाल तरुण दल रुकुमको जिल्ला अध्यक्ष बने। द्वन्द्वकालमा नेपाली कांग्रेससँग आबद्ध हुनु नै जोखिमपूर्ण मानिने अवस्थामा पनि उनले पार्टीको संगठन जोगाउने र विस्तार गर्ने काममा महत्वपूर्ण योगदान दिएका थिए। त्यसैले उनलाई पार्टीप्रति निष्ठावान र साहसी युवा नेताका रूपमा लिने गरिन्छ।
पार्टी संगठन निर्माणमा उनको निरन्तर सक्रियताका कारण उनी नेपाली कांग्रेसको १०औँ महाधिवेशनबाट जिल्ला सचिव बने। त्यसपछि उनले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरेका छन्। पार्टीभित्र उनले सधैं संगठन सुदृढीकरण, कार्यकर्ता सशक्तीकरण र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा आवाज उठाउँदै आएका छन्।
मानबहादुर नेपाली दलित समुदायबाट नेपाली कांग्रेसको जिल्ला सभापति बन्ने नेपालकै पहिलो नेता मानिन्छन्।
उनको निष्ठा, लगनशीलता र सक्रियताको कदर गर्दै सरकारले २०७१ सालमा उनलाई राष्ट्रिय दलित आयोगको अध्यक्षको जिम्मेवारी दिएको थियो। उक्त पदमा रहँदा उनले दलित समुदायका अधिकार, समानता र सामाजिक न्यायका विषयमा विभिन्न पहल गरेका थिए। त्यहाँ उनले दुई वर्षसम्म जिम्मेवारी सम्हाल्दै दलित समुदायको उत्थानका लागि नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका खेले।
यसअघि २०५७ सालमा उनी मध्यपश्चिम क्षेत्रबाट उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान विकास समितिको सदस्यसमेत बनेका थिए। त्यतिबेलादेखि नै उनले सामाजिक न्याय, समावेशीता र दलित समुदायको सशक्तीकरणका मुद्दामा निरन्तर काम गर्दै आएका छन्।
नेपाली अहिलेको कठिन परिस्थितिमा पार्टीका उम्मेदवारलाई निर्वाचनमा जिताउन र पार्टीको पक्षमा माहोल बनाउन अहोरात्र खटिएका थिए। उनी सधैं पार्टीभित्र इमान्दार भएर खटिने तर अवसर आउँदा पछाडि पारिने नेतामध्येमा पर्दै आएका छन् भन्ने धारणा पनि पार्टी वृत्तमा सुन्न पाइन्छ।
विगत तीन दशकदेखि निरन्तर पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन र सामाजिक न्यायका मुद्दामा सक्रिय मानबहादुर नेपालीलाई नेपाली कांग्रेसभित्र दलित समुदायका एक भरोसायोग्य, अनुभवी र प्रतिबद्ध नेताका रूपमा हेरिन्छ। रुकुमजस्तो दुर्गम क्षेत्रबाट उठेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान स्थापित गर्न सफल उनी आगामी दिनमा अझ ठूलो जिम्मेवारीमा पुग्ने अपेक्षा पार्टी वृत्तमा गरिएको छ।

