रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–९ तकसेरामा सामुदायिक रूपान्तरण परियोजना अन्तर्गत एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
युएमएन कर्णाली प्रदेश सुर्खेत र नेपाल जनजागरण मञ्च (रुकुम पश्चिम क्लष्टर)को साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मञ्चका कर्मचारीसहित ४२ जनाको सहभागिता रहेको अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए। उनका अनुसार परियोजना अधिकृत हस्तबहादुर भाग्रीले सञ्चालनमा आउन लागेको परियोजनाको उद्देश्य, कार्ययोजना तथा रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए।
अभिमुखीकरणमा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको थियो।
पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालन हुने उक्त परियोजनाको कुल लागत १ करोड ३२ लाख १८ हजार ९ सय रुपैयाँ रहेको जनाइएको छ। परियोजनाले विशेषगरी मानसिक स्वास्थ्य समस्याको दिगो व्यवस्थापनमा केन्द्रित रहेर समुदायमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
यसअन्तर्गत आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा धार्मिक अगुवाको क्षमता विकास गरिनेछ। साथै मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, औषधि तथा उपकरण सहयोग, प्रभावित व्यक्तिका लागि आयआर्जन सहयोग, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नीति निर्माण र पैरवीमा सहयोग गर्ने कार्यक्रम रहेको छ।
परियोजनाका लक्ष्य, उद्देश्य र गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारले सरकारी कार्यक्रमसँग एकीकृत गरी अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको सञ्चालन सामाजिक परिचालक पृथ्वीबहादुर छन्त्यालले गरेका थिए भने अध्यक्षता संस्थाका अध्यक्ष टेकबहादुर कुसारीले गरेका थिए। प्रमुख अतिथिका रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विक सहभागी थिए भने संस्थाका आजीवन सदस्य थलबहादुर शेरचनले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
पुथा उत्तरगंगामा सामुदायिक रूपान्तरण परियोजना अभिमुखीकरण सम्पन्न

